Spread the love

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ६ गतेबाट दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

रत्ननगर नगरपालिका, खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगीता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।

नेपाल माविको खेल मैदानमा हुने प्रतियोगितामा चितवनका सात पालिका सहित मकवानपुरको २ वटा पालिका र नवलपुरको १ वटा पालिका गरी १० वटा टिमले प्रतिस्पर्धा गर्ने संयोजक चौधरीले जानकारी दिए । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए । युवाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउदै फुटबल खेल क्षेत्रको प्रर्वधन र विकासमा महत्वपूर्ण योगदानका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विगतमा चितवन जिल्ला भित्रका पालिकाहरुको मात्र सहभागिता रहने गरेको यस प्रतियोगतामा यस पटक थप परिस्कृत र परिमार्जन सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिकालाई समेत समेत सहभागी गराइएको छ ।

रत्ननगर नगरपालिकाले आयोजना गर्ने तेश्रो अन्तर पालिका मेयर कप फुटबल प्रतियोगीताले युवाहरुको खेल प्रतिभाको मूल्याङ्कन मात्र नभइ फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायिक खेलाडी उत्पादन साथै ग्रासरुटको फुटबलको विकास गर्ने लक्ष्य राखिएको नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले बताए । पत्रकार सम्मेलनमा वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले समेत प्रतियोगिताको बारेमा बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय