रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–५, झुवानीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले ‘अब्बल पुस्तकालय, समृद्ध समाज’ भन्ने नाराका साथ १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुखअतिथि रत्ननगर नगरपालिका वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले पुस्तकले मानवको दृष्टिकोण नै परिवर्तन गरी जीवनलाई कतातिर लैजाने भन्ने बाटो तय गरिदिने भएकाले यो जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको चर्चा गरे ।
पुस्तकालयका लेखा समिति सदस्य सीता तिमिल्सेनाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विजय चौधरीले गरेका थिए । सभामा पुस्तकालयका अध्यक्ष अनिल अर्यालले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित कार्ययोजना प्रस्तुत गरेका थिए ।
यस्तै, कोषाध्यक्ष बलराम सापकोटाले गत आवको आय–व्यय विवरण तथा आगामी आवको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक राजन अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत अनुमोदन भएको थियो ।
साधारण सभाबाट पुस्तकालयमा अक्षयकोषको स्थापना गर्ने निर्णय भई कोषमा ७० हजार रुपैयाँ जम्मा भएको अध्यक्ष अर्यालले बताए । जन्मोत्सव, विवाह, वैवाहिक वर्ष गाँठ, पुण्यतिथिलगायतको अवसरमा जोकसैले कोषमा रकम जम्मा गर्न सकिने उनले बताए ।
कार्यक्रममा पुस्तकालयका निवर्तमान अध्यक्ष केशवराज आचार्य, जनकौली सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, रामेश्वर सामुदायिक पुस्तकालयका अध्यक्ष विजय पराजुली, सौराहा सामुदायिक पुस्तकालयका व्यवस्थापक लक्ष्मी विडारी, झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रीकुमारी पण्डितलगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।