रत्ननगर । कृषिउपजमा जथाभावी रासायनिक विषादीको प्रयोगको कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । विषादीयुक्त खाना खाएकै कारण दिनदिनै शारीरिक र मानसिक समस्या झेल्नु परिरहेको छ। मान्छेलाई यस्तो समस्याबाट मुक्त गराई प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउने उद्देश्यले रत्ननगरको वडा नं-१६ ले ‘अर्गानिक कृषि पाठशाला सञ्चालन गरेको छ। प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ समाज निर्माणका लागि विषादीरहित कृषिउपज उत्पादन गर्ने उद्देश्यले वडा

कार्यालयले नेपाल बायो कृषि उत्पादन केन्द्रसँगको सहकार्यमा शनिबार पाठशाला सञ्चालन गरेको हो।

खेतबारीमा उत्पादन हुँदै आएका खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगबिना कसरी उत्पादन लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्न ‘अर्गानिक कृषि पाठशाला’ महत्त्वपूर्ण हुने वडाध्यक्ष हेमराज थापाले बताए ।

पाठशालामा ५० भन्दा बढी किसानहरू सहभागी थिए।

सहभागीहरूलाई कृषि विज्ञ डा. निरोज पौडेल, नेपाल बायो कृषि उत्पादन प्रालिका अध्यक्ष मार्कण्डेय अधिकारीलगायतले सहजीकरण गरेका थिए। कार्यक्रममा वडा सदस्यहरू चिजकुमार श्रेष्ठ, रीता विक, पिठुवा स्वास्थ्यचौकी प्रमुख नरहरि श्याम शर्मा, पिठुवा दुग्ध उत्पादक सहकारीका अध्यक्ष गंगाराम गुरुङ, पिठुवा सिंचाइका अध्यक्ष देवबहादुर रानालगायतको उपस्थिति थियो । कार्यक्रम वडा कार्यालयका कम्प्युटर अपरेटर उज्ज्वल देवकोटाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय