
रत्ननगर । चितवनको कालिका नगरपालिका वडा नंं.१० र ११ मा रहेका दुई विद्यालयले बिहीबार स्थापनको लामो समयपछि अभिभावक दिवस मनाएका छन् ।
कालिका नगरपालिका ११ मा रहेको आधारभूत विद्यालय कल्याणचौरले ४७ औँ र १० मा रहेको आधारभूत विधालय देउजरले ४५ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएका हुन् ।



कालिका नगरपालिकाभित्रका पहाडी क्षेत्रमा विद्यालयहरु स्थापना भएदेखि वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाउने प्रचलन नरहेको पाइएपछि नगरप्रमुख विनोद रेग्मीले सबै विद्यालयलाई वार्षिकोत्सव गर्न निर्देशन दिएका थिए ।
वार्षिकोत्सव एवम् अभिभावक दिवसको माध्यमबाट विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु एकैठाउँमा जम्मा भई विद्यालय र विद्यार्थीको शैक्षिक क्रियाकलापको अनुगमन र मूल्याङ्कन गर्न पाउने र विद्यालयको शैक्षिक स्तरवृद्धि गर्नमा सहयोग पुग्ने प्रमुख रेग्मीले बताए ।
कालिका नगरपालिकाको पहाडी भूभागका विद्यालयमा विधार्थी संख्या वृद्धि गर्न र विद्यालयप्रतिको आकर्षण बढाउन आगामी बजेटबाट थप व्यवस्था गरिने प्रमुख रेग्मीले बताए ।
कालिका नगरभित्र आर्थिक अवस्था कमजोर र अभिभावक नभएको कोही कसैले पढ्न नपाएको भए नगरपालिकामा जानकारी दिन उनले आग्रह गर्दै त्यस्ता नानीबाबुलाई आवासीय सुविधासहित पढ्न पाउने व्यवस्था नगरले गरेको उनले बताए । नगरको शिक्षालाई थप टेवा पुगोस् भनेर नगरभित्र मेयर केयर र उपमेयरसँग बालबालिका कार्यक्रममार्फत शैक्षिक स्तरवृद्धि गर्न नगरले काम गरिरहेको रेग्मीले बताए ।
वार्षिकोत्सव एवम् अभिभावक दिवसमा कालिका नगरपालिका वडा नं.१० का वडाध्यक्ष नरजङ्ग प्रजा, ११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा ,वडा सदस्यहरु, पूर्वशिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।