रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई विहीबार गरिएको छ ।
नगरपालिकाले गरेको विकास निर्माणमा भएको वित्तीय तथा भौतिक प्रगति सार्वजनिक गर्ने र नगरबासीको सुझाब तथा अपेक्षा संकलन गरी सोही अनुसार नगरका गतिविधि अगाडि बढाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

रत्ननगर वडा नं १६ वडा कार्यालयको प्राङगढमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा जेनजी आम्दोलनका कारण ध्वस्त भएको नगरपालिकालाई चालु आर्थिक बर्षमा पुरानै अबस्थामा फर्काउने गरी पुनर्निमाणको कामलाई तीब्र पारिएको नगरपालिकाले जनाएको छ । विशेष नगर सभाले पुननिर्माण कोषबाट बनाएर सुरु गरिएको पुनर्निमार्णको काम ८० प्रतिशत सकिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।
नगरपालिकाले नियमित गर्नुपर्ने विकास निर्माण तथा प्रशासनिक कामलाई निरन्तरता दिँदै ध्वस्त भएका संरचना पुनर्निमार्णको काम तीब्र गतिमा भइरहेको खनालले बताए ।
नगरबासीहरुले फोहोर तथा पाकिङ व्यवस्थापन, जग्गा बर्गीकरण, कृष्णसार स्थानान्तरण, कर छुट, दोहोरो कर प्रणाली, उत्पादनमा अनुदान, नमुना पार्क सञ्चालन, सौराहाको पर्यटन विकास, बजार मुल्य, सडक मर्मत र विस्तार, कृषि तथा पशु विशेषज्ञ, मेलमिलापको काम, बसपार्क सञ्चालन, उद्यमशिलता विकास, रासायनिक मल वितरण लगायतका विषयहरुमा प्रश्न तथा सुझाब पेश गरेका छन् ।
कार्यक्रममा पर्यटन व्यवसायी राजेन्द्र धामी, सामाजिक अगुवाहरु तुलसी गिरी, सीतादेवी शर्मा, चन्द्रमणि पौडेल, उद्यमशिल महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता सिंखडा, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्ण बगाले, भद्रकाली टोल विकास संस्थाकी अध्यक्ष रश्मी इटनी काप्री, संरक्षणकर्मी आत्मराम तिवारी, दोबाटो टोल विकास संस्थाकी सचिव भोला ढकाल, रामकृष्ण पौडेल, सुमित्रा लामिछाने, हरिप्रसाद अधिकारी, उद्यमी महिला प्रेमकुमारी मगर लगायतले नगरपालिकालाई प्रश्न गर्ने सेवा सुधारको लागि सुझाब समेत दिएका छन् ।
कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खनाल, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, कृषि विकास अधिकृत प्रविण लामाले नगरबासीको प्रश्नको जवाफ दिएका थिए । नगरबासीको प्रश्नको जवाफ दिँदै उपमेयर यादब प्रसाद पाठकले सिमित स्रोत साधनका बीच नगरबासीको असिमित अपेक्षा पुरा गर्न ढिलाई भएको भन्दै नगरपालिकाले गरेका राम्रा कामलाई मनन गर्न आग्रह गरे ।
जेनजी आन्दोलनले थला परेको नगरपालिकालाई पुरानै अबस्थामा फर्फाउन पुनर्निमाणको कामलाई अगाडि बढाइएको बताए । नगरप्रमुख उद्यमशिलताको प्रभावकारिताबारे नगरबासीबाट आएको प्रश्नको जवाफ दिँदै उपमेयर पाठकले अहिले सम्म २३४ जनालाई ऋण प्रबाह गरिएको र केही व्यक्तिहरुले समयमै रकम नतिरेका कारण रोकिएको बताए । प्रमुख प्रशासकीय अधिकृत खनालले फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै नयाँ प्रक्रियाबाट अगाडि बढ्ने तयारी गरिएको बताए ।
नगरपालिकाले चालु आर्थिक बर्षमा राजश्व संकलन, वित्तीय तथा भौतिक प्रगति अपेक्षाकृत प्रगति हासिल गरेको बताए । कार्यक्रममा वडाअध्यक्ष कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, सोहेन्द्रराज खरेल, रामकुमार चौधरी, बालकृष्ण चापागाईँ, किरण महतो, सजना महतो, कृष्ण चौधरी, अनन्त अधिकारी, कलाधर पौडेल, श्यामकुमार श्रेष्ठ, सुन्दरमणि सुवेदी, आशिक तामाङ, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । चितवन मिडिया नेटवर्क प्रा.लि.ले सहजीकरण गरेको उक्त कार्यक्रम सञ्चारकर्मी रामकान्त पौडेलले सञ्चालन गरेका थिए ।














