काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिमा विश्वास गर्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भएको सामूहिक भेट तथा संवादमा उनले यस्तो बताएका हुन्।

उक्त भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरू सहभागी थिए।

भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाल सरकारका कार्यहरूमा नेपाली जनताको हित सुनिश्चित हुने गरी सहयोग र समर्थन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रधानमन्त्री शाहले छिमेकी मुलुक, मित्र राष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले शान्ति साझा प्राथमिकता भएको उल्लेख गर्दै विदेशमा रहेका नेपाली नागरिक तथा श्रमिकहरूको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

त्यसैगरी, प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा सरकार दृढ रहेको उल्लेख गरे।

उक्त अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय