म्याग्दी । मालिका गाउँपालिका–६ डाँडागाउँमा पाखो जमिन सम्याएर खेलमैदानसहित सामुदायिक भवन निर्माण गरिएको छ।

हिमाली युवा क्लबको पहलमा रु ५५ लाख ६५ हजार ५५५ को लागतमा उक्त संरचना निर्माण सम्पन्न भएको हो। सरकारी निकायबाट प्राप्त अनुदानभन्दा दोब्बर बढी रकम स्थानीय समुदायको सहयोग र श्रमदानबाट जुटाइएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिए।

उनका अनुसार यसअघि भिरालो पाखो रहेको स्थानलाई डोजर प्रयोग गरेर करिब ६० मिटर क्षेत्र सम्याइ पर्खाल लगाएर व्यवस्थित गरिएको हो। निर्माण गरिएको खेलमैदान ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइको रहेको छ। मैदान परिसरमा दुई कोठे भवन, स्टेज र सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ।

स्थानीयस्तरमा खेलमैदान अभाव हुँदा खेल अभ्यास तथा प्रतियोगिता सञ्चालनमा समस्या हुने गरेको थियो। अहिले भने खेलकुद गतिविधि सहज बनेको छ भने सामुदायिक भवनले भेला, बैठक, तालिम, गोष्ठी, सभा र अन्य सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।

क्लबले करिब १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्य अहिले पूर्णता पाएको हो। यस परियोजनाका लागि मालिका गाउँपालिकाबाट रु १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु १२ लाख सहयोग प्राप्त भएको छ। हिमाली युवा क्लबले रु ४ लाख ७६ हजार बराबरको श्रमदान गरेको छ भने फुलपाती आमा समूहले रु ३ लाख नगद सहयोग गरेका छन्।

त्यसैगरी स्थानीय व्यक्तिहरूले पनि उल्लेख्य आर्थिक सहयोग गरेका छन्।

खेलमैदानको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गरेका छन् भने सामुदायिक भवनको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले गरिन्। कार्यक्रममा बोल्दै सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकास तीव्र भए पनि बसाइँसराइ र जनसंख्या घट्ने समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै पर्यटन र कृषिमा आधारित उद्यमतर्फ लाग्न आग्रह गरे।

उद्घाटनसँगै नयाँ वर्षको अवसर पारेर ‘कासिराम जुग्जाली स्मृति प्रथम कप’ प्रतियोगिता सुरु गरिएको छ। प्रतियोगितामा भलिबल, फुटसललगायतका खेलहरू समावेश गरिएको क्लबले जनाएको छ। कार्यक्रममा सहयोगदाताहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय