भरतपुर, चितवन : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति पुगेको चितवनस्थित भाटभटेनी सुपरमार्केट पुनर्निर्माणपछि पुनः सञ्चालनमा आउने भएको छ।
पूर्ण रूपमा क्षतिग्रस्त बनेको उक्त स्टोर लामो समयको पुनर्निर्माण कार्यपछि भोलि (शुक्रबार) देखि पुनः सेवा सुरु गर्न लागिएको हो।
आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा रहेका भाटभटेनीका केही शाखामा समेत क्षति पुगेको थियो। तीमध्ये चितवन शाखा सबैभन्दा बढी प्रभावितमध्ये एक बनेको थियो। निरन्तर मर्मत तथा पुनर्निर्माणपछि अहिले स्टोर सञ्चालनयोग्य अवस्थामा पुगेको व्यवस्थापनले जनाएको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ ले यस्ता घटना भविष्यमा दोहोरिन नदिन देशमा शान्ति र स्थायित्व आवश्यक रहेको बताएका छन्। उनले यस्ता घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन्।
सुपरमार्केट पुनः सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तु खरिदमा सहजता हुने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय व्यापार तथा रोजगारीमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।














