कालिका । सीमान्तकृत महिलाहरूको जीविकोपार्जन तथा आर्थिक सुधार परियोजनाअन्तर्गत करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले कालिका नगरपालिका वडा नं–३ मा सञ्चालन गरेको मौसमी, बेमौसमी तरकारी तथा लहरेबाली खेती तालिम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुखअतिथि कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा लागू गर्दै ‘समृद्ध कालिका : सुखी कालिकावासी’को निर्माणमा जुट्न आग्रह गरे ।

उनले एड्वानसँगको सहकार्यमा विभिन्न तालिम प्रदान गर्दै आएको बताउँदै कृषि उत्पादनसँगै आयआर्जनमा लाग्नुपर्नेमा जोड दिए । नगरले कृषि क्षेत्रमा थुप्रै बजेट विनियोजन गरेको जानकारी दिँदै नगरप्रमुख रेग्मीले सीमान्तकृत महिलाहरू संगठित भएर कृषि पेसामा लाग्न र नगरका सूचना हेरेर राहत, छूट तथा अनुदान प्राप्त गर्न सकिने बताए ।

यस्तै, वडाध्यक्ष वीरेन्द तामाङले महिला दिदीबहिनीहरु संगठित भएर तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै बिषादीरहित कृषि उत्पादन गर्न जोड दिए । उनले केही दिनमै सिंचाइको समस्या समाधान गर्ने प्रतिबद्धतासमेत जनाए ।

कृषि विज्ञ शिवराज पौडेल नेतृत्वको प्रशिक्षक टोलीले सहभागीहरुलाई तरकारी खेतीबारे तालिम दिएका थिए । सातदिने तालिममा २१ प्रकारका छुट्टाछुट्टै कक्षा सञ्चालन गरी अडियो–भिडियोका माध्यमबाट तालिम प्रदान गरिएको पौडेलले बताए ।

नेपाल दलित महिला उत्थान संघ (एड्वान)की अध्यक्ष विन्दु परियारले महिलाहरुको सशक्तीकरणको क्षेत्रमा एड्वानले काम गरिरहेको बताइन् । उनले महिला दिदीबहिनीहरुलाई तालिम सकिएपश्चात् बीउ पुँजीस्वरुप ५० हजार रुपैयाँ प्रदान गरिएको बताइन् । एड्वानले क्षमता अभिवृद्धि, जीविकोपार्जन र वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

तालिममा स्थानीय प्रशिद्ध टोलका २१ जना महिलाको सहभागिता रहेको थियो । सहभागीले तालिमपश्चात् आफूहरु धेरै पछाडिपरेको महसुस भएको बताउँदै अब नगर र वडाबाट प्राप्त अनुदान, राहत तथा छूटलगायतका कार्यक्रममा सहभागी हुने बताए ।

तालिममा माटो परीक्षण, माटोको अम्लियपन, बिषादीको प्रयोग, बीउ राख्ने र सार्ने समय, मलखादलगायतका विषयमा प्रशिक्षण दिइएको सहजकर्ता कमला पन्थीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय