
रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरूकुलम्मा दुईदिने संस्कृत भाषा प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।
बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा चितवन जिल्लाका विभिन्न संस्कृत गुरूकुल र संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।



कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले गुरूकुलमलाई वडाले सधैँ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गुरूकुलम्का प्राचार्य सुभाष चालिसेले संस्कृत भाषाको व्यावहारिक प्रयोगलाई सहज बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए । उनले संस्कृत भाषाको विशिष्टतालाई विश्वसामु चिनाउन सके यो विश्वभाषा बन्न सक्ने विश्वास व्यक्त गरे ।
गुरूकुलम् व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद भट्टको अध्यक्षता रहेको कार्यक्रममा रत्ननगर–१ का वडा सदस्य सूर्यविक्रम चौधरी, गायत्री हरिहर मन्दिर संरक्षण समितिका अध्यक्ष नीलकण्ठ पौडेल, संरक्षक नेमराज शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष शंकर गिरी, गुठीदाता नगिया थरुनीलगायतको आतिथ्यता रहेको थियो ।
गुरूकुलम् सञ्चालक समिति सदस्य सरला सुवेदी, हरिहर मन्दिरका अध्यक्ष नीलकण्ठ शर्मा पौडेल र संरक्षक नेमराज शर्माले संस्कृत भाषाको मह¤वमाथि प्रकाश पारेका थिए । गायत्री गुरूकुलम्का सहप्रधानाचार्य संगम पौडेल र श्रीराम वैदिक संस्कृत गुरूकुलम्का आचार्य सुदीप पौडेलले प्रशिक्षण दिएका थिए ।