रत्ननगर, चितवन । चितवन उद्योग संघ, रत्ननगर समितिले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमका लागि रत्ननगर नगरपालिकालाई विभिन्न सुझावसहितको ज्ञापन पत्र बुझाएको छ। बिहीबार आयोजित एक कार्यक्रममा संघले औद्योगिक प्रवर्द्धन र राजस्व नीतिका लागि प्रस्तावित सुझावहरू हस्तान्तरण गरेको हो।

संघले रत्ननगरमा औद्योगिक विकासका लागि कार्यालय भवन निर्माण गर्न ५ कठ्ठा सरकारी जग्गा उपलब्ध गराउन, कयर खोला किनारमा औद्योगिक ग्राम स्थापना गर्न पूर्वाधार निर्माण गर्न, लघु तथा साना उद्यमीका उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना गर्न, स्थानीय कच्चा पदार्थमा आधारित हस्तकला उद्योगलाई प्रवर्द्धन गर्न सीप विकास कार्यक्रम सञ्चालन गर्न र उद्यमी संवाद कार्यक्रम आयोजना गर्न बजेट व्यवस्था गर्न माग गरेको छ। साथै, नगरपालिकाले Commercially Important Person (CIP) पहिचान गर्ने नीति बनाउन, टेक्नो पार्क निर्माण गर्न, पर्यटकीय क्षेत्रमा खानेपानी र शौचालय व्यवस्था गर्न, खाद्यजन्य उद्योगका लागि प्रक्रियागत सहजीकरण गर्न र मौरी चरणका लागि बोटबिरुवा रोपण अभियान सञ्चालन गर्न पनि सुझाव दिएको छ।

यस्तै, केरा, मह जस्ता स्थानीय उत्पादनलाई स्कूलको दिवा खाजामा समावेश गर्न, उद्योग दर्ता प्रक्रियालाई सहज बनाउन पौष मसान्तसम्म जरिवानाविना दर्ता र नवीकरणको व्यवस्था गर्न, विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट स्थापना गर्न, केरा उत्पादनको ब्रान्डिङ र बिक्री प्रवर्द्धन गर्न स्टल व्यवस्था गर्न र तरकारी तथा फलफूलको विषादी परीक्षण ल्याब स्थापना गर्न प्रस्ताव गरिएको छ।

नयाँ उद्यमी सिर्जनाका लागि स्टार्टअप तालिम, प्रदर्शनीमा सहभागिताका लागि स्टल व्यवस्था, उद्योग सम्बन्धी तथ्याङ्क संकलन र तालिम सञ्चालनका लागि रु. २५ लाख बजेट माग गरिएको छ। राजस्व नीतिमा करको दायरा बढाउन, करदाता पहिचान स्टिकर प्रदान गर्न, बाँझो जग्गामा तेब्बर कर लगाउन र सौराहाका पर्यटन व्यवसायीलाई एकद्वार कर प्रणाली लागू गर्न सुझाव दिइएको छ।

कार्यक्रममा संघका अध्यक्ष उमाकान्त पौडेल, संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी, निवर्तमान अध्यक्ष गोविन्द प्रसाद खनाल, उपाध्यक्षहरू गोपाल प्रसाद गैरे र शिव खनाल, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, महिला उद्यमी मञ्चकी बिन्दु शर्मा र गीता सिंखडालगायतको उपस्थिति थियो। ज्ञापन पत्र रत्ननगर नगर प्रमुख प्रलाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय