
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले राप्ती नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् ।



सो अवसरमा १३ वटै वडालाई पूर्णखोप वडाको प्रमाणपत्र प्रदान गरिएको छ । सो अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणपूर्व गरिएको सर्वेक्षणले जन्मेदेखि खोप नपाएका र नियमित नलगाएका बालबालिकाको पहिचान भएको बताए ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपालको संविधान २०७२ ले पूर्णखोप पाउने ग्यारेन्टी गरेको र संविधानप्रदत्त हकबमोजिम १५ महिनाभित्रका बालबालिकालाई १३ प्रकारका खोप लगाइँदै आएको बताए । मेयर शमशेर लामाले शिक्षाा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको भन्दै नगरमा विद्यमान बेतिथिका कारण स्वास्थ्य क्षेत्र संकटमा परेको बताए । दैनिक ज्यालादारी कर्मचारी हटाउदा त्यसको असर स्वास्थ्य क्षेत्रमा परेको भन्दै उनले नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न सञ्चालन गरिएको एम्बुलेन्स र विकटमा स्वास्थ्य केन्द्र बन्द भएको बताए ।
कार्यक्रममा निर्वतमान उपमेयर समेत रहेका भूमि समस्या सामधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामाले जनप्रतिनिधि बीचको विवादले राप्तीको छवि विग्रिएको भन्दै सम्बन्ध सुधार गरेर राप्तीको विकासमा जुट्न आग्रह गरे । स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले राप्तीमा सर्वेक्षणको क्रममा ६ जना बालबालिकाले खोप नपाएको र २५ जना नियमित नभएको पाइएको बताए ।
राप्तीका ३ हजार ५९८ जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उनले बताए । शेयर लामाको अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्षहरु सीताराम बल, सुमिता डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।
स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले सञ्चालन गरेको कार्यक्रममा अधिकृत छैठौं कर्मचारी राजेन्द्र घायलले सचेतनामुलक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपमेयर देवेन्द्र लामा सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य संयमसेविकाहरुको उपस्थिति रहेको थियो ।