Spread the love

काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण मौसम प्रभावित बनेको हो ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ ।

यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि हिमाली तथा पहाडी भू–भागमा बदली कायम रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर