रत्ननगर । बकुलहर रत्ननगर अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि पीडित परिवार आन्दोलनमा उत्रिएको छ । रत्ननगर नगरपालिकाको रोहवरमा मौखिक रूपमा तीन बुँदे सहमति भएको भनिए पनि परिवार न्यायको माग गर्दै नाबालक शिशुसहित आन्दोलनमा बसेको हो ।
रत्ननगर नगरपालिका–४ की २७ वर्षीया अस्मिता तामाङ विकको गत वैशाख १० गते बिहीबार राति मृत्यु भएको थियो । परिवारका अनुसार बिहीबार साँझसम्म आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । तर राति एक्कासी अवस्था गम्भीर बनेपछि अस्पतालले फोक्सोको नलीमा रगत जमेको जानकारी दिएको थियो ।
अस्पताल प्रशासनले फोक्सो तथा मुटु रोग विशेषज्ञ चिकित्सक र पर्याप्त आईसियु सुविधा नभएका कारण अस्मितालाई चितवन मेडिकल कलेज रेफर गरिएको जनाएको छ । तर चितवन मेडिकल कलेज पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि आक्रोशित परिवारले उपचारमा संलग्न डाक्टर र नर्सको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गरेका छन् ।









