Spread the love

चितवन : नेपालमै पहिलोपटक गणेश भगवान्को आराधनालाई केन्द्रमा राखेर तीनदिने ‘गणेश उत्सव–२०८३’ आयोजना गरिने भएको छ। चितवनस्थित गणेशधाममा आगामी भदौ २९, ३० र ३१ गते आयोजना हुने उत्सवका लागि गणेशधाम संरक्षण संवर्द्धन समितिले आवश्यक तयारी सुरु गरेको छ।

समितिको आइतबार बसेको बैठकले उत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने निर्णय गर्दै समितिका निवर्तमान अध्यक्ष तथा सामाजिक एवं धार्मिक व्यक्तित्व दिनेशकुमार चुकेलाई उत्सव मूल समारोह समितिको संयोजक चयन गरेको हो।

समितिका अनुसार नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस गणेश उत्सवको मुख्य उद्देश्य गणेशधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई राष्ट्रियस्तरमा परिचित गराउनुका साथै धार्मिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको छ। उत्सवका क्रममा विशेष पूजाआजा, गणेश महाआरती, भजन–कीर्तन, धार्मिक प्रवचन तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।

संयोजकको जिम्मेवारी पाएपछि दिनेशकुमार चुकेले आफूलाई विश्वासका साथ जिम्मेवारी सुम्पिएकोमा समितिप्रति आभार व्यक्त गर्दै सम्पूर्ण भक्तजन, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकलाई उत्सव सफल बनाउन सहयोगको अपिल गरेका छन्।

उनले भने, “नेपालमै पहिलोपटक गणेश उत्सव आयोजना गर्न लागिएको छ। यस ऐतिहासिक धार्मिक अभियानलाई सफल बनाउन सबै महानुभावले तन, मन र धनले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु। गणेशधामलाई राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने यो अवसरमा सबैको सक्रिय सहभागिता आवश्यक छ।”

गणेशधाम संरक्षण संवर्द्धन समितिका अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा रहेको टोलीले गणेशधामको धार्मिक पहिचानलाई थप सुदृढ बनाउने लक्ष्यका साथ उत्सव आयोजना गर्न लागेको जनाएको छ। समितिको विश्वास छ कि यस उत्सवले गणेशधामको ऐतिहासिक गरिमा उजागर गर्नुका साथै धार्मिक पर्यटन विकासमा समेत नयाँ आयाम थप्नेछ।

समितिले तीनदिने उत्सवमा देशभरका श्रद्धालु, धार्मिक अगुवा, विभिन्न संघसंस्था तथा स्थानीय समुदायलाई उत्साहजनक सहभागिताका लागि हार्दिक निमन्त्रणा दिएको छ। नेपालमै पहिलोपटक हुन लागेको यस गणेश उत्सवलाई ऐतिहासिक बनाउने तयारी तीव्र पारिएको समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय