रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिमा पहिलो पटक पदाधिकारीमा महिला निर्वाचित भएकी छन् । स्थापना भएको २९ बर्षपछि सो संस्थाले इतिहासमै पहिलो पटक महिलालाई पदाधिकारीमा पाएको हो । गणेश खतिवडाको नेतृत्वमा बनेको नयाँ समितिमा सरस्वती लामा उपाध्यक्षमा निर्वाचित भइन् ।
इकाइ नं २ बाट संयोजक जितेकी लामालाई मृगकुञ्जको पदाधिकारीमा निर्वाचित हुने अबसर जुरेको हो । संस्थाको उपाध्यक्षमा निर्वाचित भएर आफुलाई इतिहास रच्ने मौका मिलेको उनले बताइन् । मेरो लागि यो ठुलो मौका हो उनले भनिन् म यसलाई कुनै पनि हालतमा चुक्न दिन्न । २०५४ सालमा साविक बछौली उपभोक्ता समिति रहेकोमा २०५९ सालमा रत्ननगर उपभोक्ता समिति र बछौली उपभोक्ता समिति एकीकरण भएर मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बनेको थियो ।
मृगकुञ्जका कार्यालय सचिव यौवनकुमार पराजुलीले इतिहासमै पहिलो पटक महिला पदाधिकारीमा चयन भएको बताए । रत्ननगरको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र खैरहनीको बुढिराप्ती उपभोक्ता समितिमा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गरिएको हो ।
मृगकुञ्जको अध्यक्षमा गणेश खतिवडा र बुढीराप्तीको अध्यक्षमा कृष्णलाल चौधरी निर्वाचित भएका छन् । मृगकुञ्जको सचिवमा शनिश्चरा महतो, कोषाध्यक्ष बालकृष्ण अम्गाई र सदस्यहरुमा दुर्गाप्रसाद घिमिरे, नवलकिशोर मर्दनीया, संजय चौधरी, हरि धमला र प्रकाश घिमिरे निर्वाचित भएको मृगकुञ्जका कार्यालय सचिव पराजुलीले जानकारी दिए ।
बुढीराप्तीको उपाध्यक्षमा चन्द्रलाल चौधरी, सचिवमा डिल्लीराज भट्टराई र कोषाध्यक्षमा शरण बहादुर बोगटी चयन भएका छन् । सदस्यमा सुजन कुँवर, गौरीराम महतो, सुमन पासवान, दुर्गादत्त रेग्मी र प्रतिमा दराई निर्वाचित भएको कार्यालय सचिव गोविन्द दराईले जानकारी दिए ।
















