काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमारामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो । संसद् सचिवालयले सांसदहरुलाई अपराह्न ३ः४५ बजेअघि नै सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन) मा उपस्थित हुन आग्रह गरेको छ ।
यसअघि आज अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना सदनमा प्रस्तुत गरिने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गरिनेछ भने प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि पनि छलफल अघि बढाइने तयारी छ ।
आजको बैठकमा सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि संसद्मा पेस हुनेछन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा टेबुल हुने संसद् सचिवालयले जनाएको छ ।
सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा प्राथमिकतामाथि केन्द्रित रहने यो अधिवेशनलाई राजनीतिक तथा आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।









