Spread the love

चितवन, फागुन १३ — नेकपा एमाले चितवन क्षेत्र नम्बर १ का उम्मेदवार दावा दोर्जे लामाले पर्यटकीय क्षेत्र सौराहाको संरक्षण र विकासका लागि आफूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

बुधबार निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रमको क्रममा सौराहाको गैँडा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय रूपमा परिचित सौराहालाई बाढीबाट जोगाउन तथा समग्र विकासका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले यसअघि पनि एमालेका जनप्रतिनिधिहरूले सौराहालाई बाढीबाट जोगाउन तटबन्ध निर्माणलगायत विभिन्न योजना अघि बढाएको उल्लेख गरे। सौराहाको दीर्घकालीन संरक्षणका लागि व्यवस्थित तटबन्ध निर्माण आवश्यक रहेको बताउँदै उनले निर्वाचित भएपछि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने बताए। साथै क्षेत्रको समग्र विकासमा पनि ध्यान केन्द्रित गर्ने उनको भनाइ छ।

मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि आफू मन्त्री रहेका बेला प्रदेश सरकारबाट बजेट व्यवस्था गरी पर्खाल निर्माण गरिएको उनले स्मरण गरे। राप्ती, खैरहनी र रत्ननगर क्षेत्रमा पर्खाल निर्माणका लागि करिब १६ करोड रुपैयाँ बजेट विनियोजन भई काम भएको बताउँदै उनले यस्तो कार्यक्रमलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाए।

यसैबीच, एमालेका प्रत्यक्षतर्फका उम्मेदवार लामा र समानुपातिक उम्मेदवार प्रभा बरालले बुधबार रत्ननगर नगरपालिका वडा नम्बर ५, ६ र ७ मा घरदैलो कार्यक्रम गर्दै मतदातासँग भेटघाट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय