Spread the love

भरतपुर । उद्यमशीलता विकासमार्फत नयाँ उद्यमी सिर्जना, औद्योगिक उत्पादकत्व वृद्धि, पूर्वाधार विकास र उद्योगमैत्री नीति निर्माणमा बहस पैरवी गर्ने उद्देश्यसहित भरतपुरमा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्यसहित प्रदर्शनीबारे जानकारी गराउँदै यसको उद्देश्य स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले साना तथा ठूला उद्योगका उत्पादनको बजारीकरण, प्रवर्द्धन र स्थानीय उत्पादनको पहुँच विस्तारमा प्रदर्शनीले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योगमन्त्री बिन्दु श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी लगायत विभिन्न राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रदर्शनीको दोस्रो दिन “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा निजी क्षेत्रको कार्यपत्रसहित प्यानल छलफल आयोजना गरिनेछ। निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा ११० भन्दा बढी स्वदेशी तथा विदेशी स्टलहरू रहेका छन् भने २५ हजारभन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रदर्शनीमार्फत स्वदेशी वस्तुको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात वृद्धि, प्रदेशबीच व्यावसायिक सञ्जाल विस्तार, प्रविधि तथा अनुभव आदान–प्रदान, नयाँ उद्यमी सिर्जना र युवालाई उद्यमशीलतामा प्रेरित गर्ने लक्ष्य राखिएको छ। साथै, लगानीकर्ता र स्टार्टअपबीच ‘बिटुबि’ (B2B) भेटघाटमार्फत सहकार्य विस्तार गर्ने योजना पनि रहेको आयोजकले जनाएको छ।

नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्वमा आयोजित प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मुख्य प्रवर्द्धकको रूपमा रहेको छ। विभिन्न साझेदार संस्थाहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले गर्नुभएको थियो भने समापन उपाध्यक्ष गजेन्द्र अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय