Spread the love

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा नयाँ वर्ष २०८३ को अवसरमा भोलि बैशाख १ गते भव्य सांगीतिक महोत्सव आयोजना हुँदैछ। सौराहास्थित मैनाहा चौरमा हुने उक्त कार्यक्रममा चर्चित गायक जोन चाम्लिङ राई (John & The Locals) सहित Aryan & Clusters तथा E-Stabdha जस्ता ब्यान्डहरूले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्।

महोत्सवमा आधुनिक सांगीतिक प्रस्तुति मात्र नभई थारु संस्कृति झल्काउने विशेष सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने आयोजकले जनाएको छ, जसले कार्यक्रमलाई अझ विविध र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा करिब १५ हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। दर्शकको सुरक्षालाई मध्यनजर गर्दै १०० जना बाउन्सर परिचालन गरिनुका साथै नेपाल प्रहरीलगायतका सुरक्षा निकाय परिचालन हुनेछन्। साथै, सम्पूर्ण कार्यक्रम स्थल सिसिटिभी क्यामेरामार्फत निगरानीमा राखिने व्यवस्था मिलाइएको छ।

YAC इभेन्ट्स र AB इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा दिउँसो ४ बजेबाट गेट खुला गरिनेछ भने साँझ ५ बजेदेखि सांगीतिक प्रस्तुति सुरु हुनेछ। कार्यक्रम राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक एस.के. चौधरीले जानकारी दिएका छन्।

टिकट दरअनुसार अनलाइनमार्फत रु ५०० र रु १००० मा टिकट उपलब्ध रहेको छ भने कार्यक्रम स्थलमै खरिद गर्दा क्रमशः रु १००० र रु १५०० पर्ने आयोजकले जनाएको छ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण सौराहामा आयोजना हुने यस महोत्सवले नयाँ वर्षलाई थप उत्साहपूर्ण, मनोरञ्जनात्मक र स्मरणीय बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय