कैलाली। यही भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट यहाँ भएको क्षतिको यकिन विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेपछि प्रदर्शनका क्रममा क्षति गरिएका भौतिक संरचनाको यकिन विवरण सङ्कलन गर्न थालिएको हो ।

प्रहरीमार्फत क्षतिग्रस्त कार्यालयको यकिन विवरण सङ्कलन गर्दै मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । भदौ २४ मा भएको प्रदर्शनमा कैलालीमा सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका भौतिक संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर १०८ वटा सरकारी कार्यालयका भवनमा आगजनी, तोडफोड र लुटपाट भएका छन् । प्रदर्शनका क्रममा १०० वटा चार पाङ्ग्रे गाडी र करिब ५४३ वटा मोटरसाइकल, छ वटा तीन पाङ्ग्रे, १५ वटा साइकलमा आगजनी भएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रदेश सरकारको सदरमुकामसमेत रहेको धनगढीमा सबैभन्दा बढी सरकारी कार्यालयका संरचनामा क्षति भएको छ भने स्थानीय तह, वडा कार्यालय, विभिन्न विषयगत कार्यालयका भवनमा समेत क्षति पुगेको उनले बताए ।

प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत संरचनामा क्षति भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । उनका अनुसार प्रहरीले ती मन्त्रालयको क्षतिको विवरण आइतबारदेखि सङ्कलन गरिरहेको छ ।

सूचना अधिकारी जोशीका अनुसार आगजनीले क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयको प्रहरीले मुचुल्का सङ्कलन गरेको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सचिवालय भवन, प्रशासनिक भवन आगजनीले जलेर नष्ट भएको उनले जानकारी दिए । प्रहरीले मुचुल्का सङ्कलन गरिसकेपछि सरसफाइ गरेर अत्यावश्यक र प्रशासनिक काम अघि बढाइने उनको भनाइ छ ।

यहाँस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका मन्त्रालयको मुचुल्का सङ्कलनपश्चात् सरसफाइ गरी सञ्चालनका लागि वैकल्पिक उपाय खोजेर प्रशासनिक काम अघि बढाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय