Spread the love

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच भएको औपचारिक सम्झौतामा घटनासँग सम्बन्धित विभिन्न माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको हो।

सहमतिअनुसार दुवै मृतकलाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ। साथै, मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम तत्काल कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा छानबिन समितिको प्रतिवेदनमा समेटिएका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने सहमति भएको छ।

सम्झौतामा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सम्झौता पत्रमा पीडित परिवारका तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।

यसैबीच, दुवै मृतकको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय