Spread the love

रत्ननगर, साउन १९ । नेपाली कांग्रेस रत्ननगरका निष्ठावान् नेता स्वर्गीय राममणि खनालको स्मृतिमा ‘राममणि खनाल स्मृति प्रतिष्ठान’ औपचारिक रूपमा दर्ता भएको छ।

लोकतान्त्रिक आन्दोलन, समाजसेवा तथा जनहितका विविध क्षेत्रमा स्वर्गीय खनालले पुर्‍याउनुभएको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको जनाइएको छ। रत्ननगरमा लामो समयसम्म सक्रिय राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित खनालले लोकतान्त्रिक आन्दोलनका साथै सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

प्रतिष्ठानले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मानवीय सहयोग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। विशेषगरी विपन्न, असहाय तथा आवश्यकता भएका नागरिकलाई सहयोग पुर्‍याउने कार्यक्रमलाई प्राथमिकतामा राखिने प्रतिष्ठानको भनाइ छ।

त्यसैगरी, स्वर्गीय खनालको विचार, आदर्श र सेवाभावलाई नयाँ पुस्तासम्म पुर्‍याउन अध्ययन, अनुसन्धान, सम्मान कार्यक्रम, छात्रवृत्ति, स्वास्थ्य सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।

प्रतिष्ठानका पदाधिकारीहरूका अनुसार समाजमा सकारात्मक परिवर्तनका लागि स्वर्गीय खनालले देखाउनुभएको इमानदार नेतृत्व, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको भावनालाई संस्थागत रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरिएको हो।

प्रतिष्ठान दर्तासँगै स्वर्गीय राममणि खनालको योगदानलाई स्मरण गर्दै समाज विकासमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत सुरु गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय