Spread the love

रत्ननगर । पूर्वी चितवनको सौराहामा सोमबार आयोजित रक्तदान कार्यक्रममा ७१ युनिट रगत सङ्कलन भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री स्वर्गीय राममणि खनालको स्मृतिमा आयोजित कार्यक्रममा २१ जना महिला सहित ७१ जनाले रक्तदान गरेका हुन्।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजनामा रत्ननगर–६ वडा कार्यालय परिसरमा भएको उक्त कार्यक्रम रेडक्रस चितवनका जिल्ला सभापति हरिप्रसाद पौडेलले उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै सभापति पौडेलले स्व. खनालले सामाजिक तथा मानवीय क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे। वडा नं. ६ का वडाध्यक्ष किरण महतोले खनाल जनताको समस्या बुझेर काम गर्न सक्ने सक्षम नेता रहेको बताए। उनका अनुसार स्थानीय सरकारलाई मार्गनिर्देशन गर्न सक्ने क्षमता भएका खनालको निधनले समग्र नगरलाई नै ठूलो क्षति पुगेको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका सभापति सुवास बिडारीले खनालले समाजमा पु¥याएको योगदानको सम्मानस्वरूप ९० दिनको पुण्यतिथिको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

परिवारका तर्फबाट बोल्दै स्व. खनालका भाइ ऋषि खनालले दाइको नेतृत्व क्षमता र समस्यामा परेका मानिसको पक्षमा सधैं खरो रूपमा उभिने स्वभाव सबैले रुचाएको बताए।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नं. ८ का वडाध्यक्ष कृष्ण चौधरी, चितवन रेडक्रसका पूर्वमन्त्री विदुर केसी, लायन्स क्लब अफ चितवन सौराहाकी अध्यक्ष देवकला भट्टराई, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटीका अध्यक्ष अमृत पौडेल, लियो क्लब अफ सौराहाका अध्यक्ष विवेक घिमिरे, बाघमारा सामुदायिक वनका अध्यक्ष बीपी चौधरी, कोषाध्यक्ष ध्रुव खनाल, पर्यटन व्यवसायी रामकुमार अर्याल, समाजसेवी बद्री खनाल लगायतको उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीकी उपसभापति सरस्वती चालिसेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव मनोज चौधरीले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय