चितवन — रत्ननगर नगरपालिका–१० स्थित टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने तयारी गरिएको छ। वन तथा वातावरण मन्त्रालयले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवनको टिकौलीमा कृष्णसार सार्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार यसअघि सीमित क्षेत्रमा मात्र रहेका कृष्णसारको संख्या संरक्षणका कारण बढ्दै गएको छ। एउटै क्षेत्रमा मात्र राख्दा प्राकृतिक तथा वातावरणीय जोखिम बढ्ने भएकाले नयाँ उपयुक्त बासस्थानमा स्थानान्तरण गर्न लागिएको हो।
यसै सन्दर्भमा टिकौली क्षेत्रमा करिब २० हेक्टर क्षेत्रफलमा आवश्यक पूर्वाधार (इन्क्लोजर) निर्माण भइसकेको छ। अध्ययन तथा कार्ययोजना अनुसार पहिलो चरणमा ६ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गरिने जनाइएको छ।
कृष्णसार नेपालका दुर्लभ तथा संरक्षित वन्यजन्तु हुन्। टिकौलीमा स्थानान्तरणपछि यसको संरक्षणसँगै पर्यटकीय आकर्षण समेत बढ्ने अपेक्षा गरिएको















