काठमाडौं, २६ चैत — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएसँगै निगमलाई ठूलो घाटा भइरहेको भन्दै नयाँ मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै अब पेट्रोलको मूल्य विभिन्न स्थानमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम भएको छ।
निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि घाटा कायम नै छ। निगमले सार्वजनिक गरेको विवरणअनुसार पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा भइरहेको छ। कुल रूपमा निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ।
निगमले भनेको छ कि भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि घाटा निरन्तर बढ्दै गएमा Indian Oil Corporationलाई भुक्तानी गर्न कठिन हुने र आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने जोखिम छ। त्यसैले पूर्ण लागतअनुसार मूल्य नबढाई आंशिक वृद्धि गरिएको स्पष्ट पारेको छ।
यसैगरी, एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले महँगिएको छ।
मूल्य वृद्धि गरेपछि पनि निगमलाई अझै पाक्षिक करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ। इन्धन आपूर्तिमा समस्या आउन सक्ने चेतावनी दिँदै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययी हुन आग्रह गरेको छ।















