चितवन, खैरहनी । खैरहनी नगरपालिका–९ मा तीन दिने वित्तीय साक्षरता तालिम शुक्रबार सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एडवान) को आयोजना, करूण ट्रस्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा सो तालिम सञ्चालन भएको थियो ।
तालिमको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख शशिक कुमार खनिया प्रमुख अतिथि तथा उपप्रमुख कविता उप्रेती विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम एडवानकी केन्द्रीय अध्यक्ष बिन्दु थापा परियारको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा नं. ९ का वडाध्यक्ष बन्धुराम महतोको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीको तर्फबाट बिमला चौधरीले स्वागत मन्तव्य राख्दै यस्ता तालिमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बन्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो। सिर्जनाकुमारी चौधरीले तालिमको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने रामकुमारी चौधरीले सिकाइ अनुभव साझा गर्दै बचत, लगानी तथा आयआर्जनसम्बन्धी ज्ञान व्यवहारमा उपयोगी हुने उल्लेख गर्नुभयो।
एडवानकी सामाजिक परिचालिका सुनिता दराईले सहजीकरण गर्नुभएको उक्त तालिममा केशर आउजीले प्रशिक्षण दिनुभएको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख शशिक कुमार खनियाले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक गतिविधिमा सक्रिय बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमकी अध्यक्ष बिन्दु थापा परियारले दलित तथा विपन्न समुदायका महिलालाई लक्षित गरी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
तालिममा सहभागी महिलाहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै आर्थिक सशक्तिकरणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
















