रत्ननगर। रत्ननगर नगरपालिका–१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बुधबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष हेमराज थापा, वडा सदस्यहरू चीजकुमार श्रेष्ठ र ज्ञानेन्द्र रेग्मी, पूर्व जनप्रतिनिधि जयन्द्रकुमार श्रेष्ठ, विभिन्न टोल विकास समितिका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका पूर्व प्रधानाध्यापक एवं अध्यक्षहरूको उपस्थिति रहेको थियो।
भवनको शिलान्यास रत्ननगर नगरपालिकाकै जेष्ठ एवं वडा नं १६ की स्थानीय १०७ वर्षीया हेमकुमारी अधिकारीसहित वडा अध्यक्ष थापा, वडा सदस्यहरू र विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालले संयुक्त रूपमा गर्नुभएको थियो।
भवन निर्माणको लागि संघीय सरकारबाट ३ करोड रुपियाँ विनियोजन भएको थियो। निर्माण कम्पनीले २ करोड ३५ लाख ४५ हजार ४३५ रुपैयाँको लागतमा भवन निर्माण गर्न ठेक्का प्राप्त गरेको हो । निर्माणको ठेक्का धादिङ नीलकण्ठर उदय जेभीले पाएको छ। ठेकेदार कम्पनीका प्रतिनिधि सुरज लामिछानेका अनुसार निर्माण कार्य शिलान्यासकै दिनदेखि सुरु गरिएको छ।
हाल करिब ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ। केही नयाँ विद्यार्थीहरू भर्ना प्रक्रियामा समेत सहभागी भइरहेका छन्।
नयाँ भवन निर्माणसँगै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष थापाले भद्रकाली माविलाई रत्ननगरकै नमुना विद्यालयका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।
होानाथ
















