Spread the love

रत्ननगर । क्षेत्रीय होटल संघ चितवन सौराहाको २१औं बार्षिक साधारण सभा तथा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ । संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए ।

सौराहा सहित चितवनको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पौष ११ गते देखि १३ गते सम्म सञ्चालन भएको हात्ती महोत्सव आर्थिक रुपमा हेर्दा घाटामा गएको छ ।

हात्ती तथा पर्यटन महोत्सवले पर्यटन क्षेत्रमा पार्ने दीर्घकालिन प्रभावलाई हेर्दा महोत्सव फलदायी सावित भएको भन्दै संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुणराज थपलियाले महोत्सवकै कारण सौराहामा अहिले पर्यटकको संख्या अपेक्षाकृत रहेको बताए ।

कार्यक्रममा संघकी कोषाध्यक्ष बविता चौधरीले हात्ती तथा पर्यटन महोत्सवको आयव्याय तथा संघको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । हात्ती तथा पर्यटन महोत्सव सञ्चालनको लागि ५४ लाख १५ हजार ५३२ रुपैया आन्दानी हुँदा ५७ लाख ६३ हजार ६८ रुपैया खर्च भएको छ । अपुग भएको ३ लाख ४७ हजार ५३८ रुपैया संघको बचत कोषबाट खर्च गरिएको कोषाध्यक्ष चौधरीले जानकारी दिइन् ।

साधारण सभा अन्तर्गत प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्दै संघका महासचिव महेश खनालले सौराहाको पर्यटन विकासको लागि हात्ती महोत्सव सहित डिजिटल मार्केटिङ तथा प्रर्वद्धनात्मक कार्यक्रम गरिएको भन्दै घुमौ सौराहा अभियानलाई निरन्तरता, टिकट काउण्टर व्यवस्थापन, बसपार्क व्यवस्थापन, घाँसेमैदान व्यवस्थापन लगायतका कार्यक्रमहरु तय गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अर्यालले व्यवसायीको बेमेलका कारण सौराहाको अस्थित्व संकटमा पर्ने खतरा रहेको बताए । एकले आर्कालाई सिध्यान खोज्दा गन्तव्य नै सकिने तर्फ उनले व्यवसायीलाई सचेत गराए ।

संघका अध्यक्ष पाण्डेले तीनै तहको सरकारसंग सहकार्य गरी धेरै भन्दा धेरै पर्यटन भित्र्याउने योजना सहित काम गरिरहेको बताए ।

कार्यक्रममा वडा सदस्य केशरीमाया सुनार, पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेमप्रसाद ढकाल, क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष तथा होटद संघका केन्द्रीय सदस्य सुमन घिमिरे, क्षेत्रीय होटल संघका निर्वतमान अध्यक्ष गंगा गिरी, पर्यटन व्यवसायी रामकुमार अर्याल लगायतले मन्तव्य राखेका थिए ।

संघका महासचिव खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष थपलियाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय