खैरहनी । खैरहनी नगरपालिका–४ चैनपुरस्थित कंकाली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा तीन दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्यानलले ऐतिहासिक जित दर्ता गरेको छ।
काँग्रेस, एमाले र नेकपाबीच गठबन्धन हुँदा रास्वपा एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। तर, रविन्द्रनाथ अधिकारी नेतृत्वको प्यानलले सबै पदमा विजयी हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको हो।
अध्यक्ष पदमा अधिकारी ९९ मतान्तरसहित विजयी भए। उनले ६३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तिलक न्यौपानेले ५३७ मत ल्याए।
नवनिर्वाचित उपाध्यक्षमा कविचन्द्र रिमाल, सचिवमा सकुन्तला अधिकारी र कोषाध्यक्षमा पार्वती बस्नेत निर्वाचित भएका छन्। त्यस्तै, लेखा समिति संयोजकमा कृष्णप्रसाद अर्याल तथा सदस्यहरूमा राजेन्द्रप्रसाद ढकाल र सुदीप सोती विजयी भएका छन्।
निर्वाचन समितिका अनुसार अधिकारी नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो, जसले स्थानीय राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ।
















