रत्ननगर । रत्ननगर – १३ का महिलाहरूलाई आयआर्जनसँगै वातावरण संरक्षणमा जोड्ने उद्देश्यले वातावरणमैत्री सीपमूलक तालिम प्रदान गरिएको छ।
रत्नप्रिय क्लब र शक्तिशाली आमा समूह को आयोजनामा प्लास्टिक, मकैको खोस्टा तथा रिबनबाट विभिन्न उपयोगी तथा सजावटी सामग्री बनाउने तालिम सञ्चालन गरिएको हो।एनिमल नेपाल र क्लाइमेट स्मार्ट सिटीको सहकार्यमा सम्पन्न तीनदिने तालिममा प्लास्टिकबाट सपिङ ब्याग, टोकरी, डोरम्याट तथा मकैको खोस्टा र रिबनबाट फूल र बुके बनाउन सिकाइएको थियो।
तालिमको प्रशिक्षक गोमा अम्गाई ले सहभागी महिलाहरूलाई व्यवहारिक रूपमा सामग्री निर्माण सम्बन्धी सीप प्रदान गरेकी थिइन्।
समापन कार्यक्रममा वडाध्यक्ष पोट बहादुर घिमिरे, क्लबका अध्यक्ष बसन्त राना तथा आमा समूहकी अध्यक्ष विरन्जना घिमिरे ले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष घिमिरेले महिला सशक्तीकरण र स्वरोजगारका लागि स्थानीय सरकारले निरन्तर सहयोग र लगानी गरिरहेको बताए। आमा समूहकी अध्यक्ष घिमिरेले वातावरण प्रदूषण गर्ने प्लास्टिक तथा खेर जाने मकैको खोस्टालाई उपयोगमा ल्याएर आकर्षक सामग्री उत्पादन गर्न सकिने बताइन्।
क्लबका अध्यक्षले वातावरण जोगाउँदै आयआर्जनका अवसर सिर्जना गर्ने योजनाअनुसार यस्ता तालिमलाई निरन्तरता दिइने जानकारी दिए। सहभागीको तर्फबाट गीता भट्टराई ले तालिम फलदायी भएको बताउँदै सिकेको सीपलाई आम्दानीको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
क्लबका सचिव विजय लामा ले सञ्चालन गरेको कार्यक्रममा दीपा केसी, निर्णय पौडेल लगायतको उपस्थिति रहेको थियो।
















