चितवन, कालिका नगरपालिका–७ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ।
नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रस्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको सहकार्यमा वडा कार्यालयको सभाहलमा तालिम सञ्चालन गरिएको थियो।

समापन कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले महिलाको सशक्तीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै सामूहिक प्रयासमार्फत अघि बढ्नुपर्नेमा जोड दिइन्। “महिलाहरूले आत्मनिर्भर बन्न कृषि लगायतका क्षेत्रमा लाग्नुपर्छ, नगरपालिकाले आवश्यक सहयोग गर्नेछ,” उनले भनिन्।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले यस्ता तालिमले महिलाको चेतना र क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, यसले समाज रूपान्तरणमा सहयोग गर्ने उनले बताए ।

एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले तालिमबाट महिलाहरूले अधिकार, कर्तव्य र हिंसाविरुद्ध बोल्ने साहस प्राप्त गरेको बताइन्। “महिलाले अब आफ्ना हकअधिकारबारे स्पष्ट बुझ्न थालेका छन्, यो सकारात्मक परिवर्तनको संकेत हो,” उनले भनिन्।
कार्यक्रममा आदर्श दिदीबहिनी महिला समूहकी जमुना घले विक र जागरण महिला समूहकी कोषाध्यक्ष नमिता तामाङले तालिमबाट प्राप्त सिकाइबारे जानकारी गराएका थिए। उनीहरूले काम, कर्तव्य र अधिकारबारे स्पष्ट ज्ञान, महिला हिंसाविरुद्ध उजुरी प्रक्रिया, सामूहिक सिकाइ तथा बालविवाह र लैंगिक हिंसाबारे जानकारी प्राप्त भएको बताए।
कार्यक्रमको सहजीकरण सामाजिक परिचालिका कमला पन्थीले गरेकी थिइन् भने तालिमका प्रशिक्षकका रूपमा सोनालाल चौधरी रहेका थिए।
कार्यक्रममा एड्वानका कार्यक्रम प्रबन्धक कमलबाबु परियारले यस्ता तालिमले महिलाहरूको नेतृत्व क्षमता र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने बताए। सुनमाया रुम्बा (जागरण महिला समूह अध्यक्ष) ले स्वागत मन्तव्य राखेकी थिइन्।
त्यसैगरी कालिका नगरपालिकाका सहकारी तथा सूचना अधिकारी प्रकाशचन्द्र पौडेल, वडा नं. ७ की वडा सदस्य तथा कार्यवाहक अध्यक्ष शर्मिला अधिकारी लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रम एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
















