Spread the love

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी देखाएको आधारमा हिजो निवासबाटै प्रहरीले ओलीलाई पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको कडा विरोध गर्दै रिहाइका लागि देशव्यापी दबाब सिर्जना गर्ने निर्णय गरेको हो।

एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार, काठमाडौंमा माइतीघर मण्डलमा कार्यकर्ता भेला भई नाराजुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। यसअघि हिजो पनि पार्टीसम्बद्ध जनसंगठनले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

यस्तै, अध्यक्ष ओलीको पक्राउबारे थप कानुनी परामर्शका लागि आज बिहान १०ः३० बजे कानूनविदहरूसँग अन्तरसंवाद कार्यक्रम राखिएको छ। उक्त कार्यक्रम पुतलीसडकस्थित पार्टीसम्बद्ध संगठनको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ।

एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कदम भन्दै तत्काल रिहाइको माग गरेको छ भने सरकारलाई आन्दोलनका कार्यक्रम अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय