असोज २६ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।


कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।







