रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ धारा जडान गर्ने उपभोक्तालाई ५० प्रतिशत छुट दिने भएको छ।
संस्थाको सेवा क्षेत्रभित्र अझै करिब १० प्रतिशत घरधुरी स्वच्छ खानेपानीको पहुँचबाहिर रहेको आकलन गर्दै संस्थाले धारा जडानमा छुट सुविधा ल्याएको हो।


संस्थाका अध्यक्ष दीपकराज पौडेलका अनुसार मंसिर ७ गते सोमबारदेखि लागू हुने गरी एक महिनाका लागि उक्त छुट सुविधा उपलब्ध गराइनेछ। यसअघि नयाँ धारा जडानका लागि ८ हजार ५०० रुपैयाँ शुल्क तिर्दै आएका उपभोक्ताले अब ४ हजार २५० रुपैयाँमै धारा जडान गर्न सक्नेछन्।
तर, व्यवसायिक प्रयोजनका लागि जडान गरिने धारा तथा एक इन्चका धारामा भने यो छुट लागू नहुने अध्यक्ष पौडेलले जानकारी दिए।
संस्थाले यसअघि पनि विभिन्न लक्षित समूहलाई छुट सुविधा दिँदै आएको छ। सामुदायिक विद्यालयलाई पानी महसुलमा ५० प्रतिशत छुट, भूमिहीन परिवारलाई धारा जडानमा ५० प्रतिशत छुट तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क धारा जडानको सुविधा उपलब्ध गराउँदै आएको छ। संस्थाका अनुसार भूमिहीन परिवारतर्फ हालसम्म १ हजार १०० घरधुरीले धारा जडानमा छुट सुविधा लिइसकेका छन्।









