
चितवन, भाद्र २६ – हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले दिनभर व्रत बस्ने, भगवान् शिव–पार्वतीको पूजा–आराधना गर्ने तथा रातभरि भजन, कीर्तन र नृत्य गरेर तीज मनाउने प्रचलन छ ।
तीजलाई मुख्यतया “सौभाग्य र दीर्घ आयु” को कामनासहित व्रत बस्ने पर्वका रूपमा लिइन्छ । विवाहित महिलाले पतिको सु–स्वास्थ्य र दीर्घायुका लागि यो व्रत बस्ने विश्वास छ भने अविवाहित कन्याले योग्य पति प्राप्तिको कामना गर्दै तीजको ब्रत बस्ने परम्परा रहँदै आएको छ ।



यस अवसरमा विशेष गरी शिव मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । महिलाहरू रातो पहिरन, हरियो चुरा र मेहन्दीमा सजिएर भक्तिपूर्वक शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् ।
तीन दिनसम्म चल्ने तीज पर्वमा पहिलो दिन “दर खाने दिन”, दोस्रो दिन मुख्य “हरितालिका तीज व्रत” र तेस्रो दिन “ऋषि पञ्चमी” गरी सम्पन्न हुने परम्परा रहेको छ ।
नेपालमै मात्र नभई विदेशमा रहेका नेपाली महिलाले समेत तीजलाई आफ्ना संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाउने गरेका छन् ।