रत्ननगर, भदौ १६ । नेपाल रेडक्रस सोसाइटी चितवनले बालमैत्री कक्ष (Child Friendly Space) सहितका सामग्री रत्ननगर नगरपालिका–५ अन्तर्गत रहेको नगर स्वास्थ्य केन्द्र टरौलीलाई हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा रेडक्रस चितवनका सभापति हरि प्रसाद पौडेल, रत्ननगर नगरपालिका वडा नं ५ का अध्यक्ष बालकृष्ण चापागाई, रेडक्रस चितवनका मन्त्री राममणि खनाल, रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल, सह-संयोजक वासुदेव सापकोटा, नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख गोविन्द शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समन्वय कार्यक्रम संयोजक प्रदिप सुवेदीले गर्नुभएको थियो भने सञ्चालन रेडक्रस उप–शाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो।

यस अवसरमा बोल्दै रेडक्रस चितवनका सभापति हरि प्रसाद पौडेलले “बालबालिकाको मानसिक स्वास्थ्य र खेलमैत्री वातावरण सृजना गर्नु आजको आवश्यकता रहेको बताए । यसले उनीहरूको आत्मविश्वास र क्षमतामा वृद्धि गर्ने पौडेलले बताए ।

वडा नं ५ का अध्यक्ष बालकृष्ण चापागाईले यस प्रकारको कार्यक्रमले स्थानीय बालबालिकालाई प्रत्यक्ष फाइदा पुर्‍याउने भएकाले यसलाई थप प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले “बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, स्वास्थ्य उपचारसँगै उनीहरूको मानसिक र सामाजिक विकासलाई अघि बढाउने गरी बालमैत्री कक्षा सञ्चालन गर्नु महत्त्वपूर्ण रहेको बताए । यसले बालबालिकालाई सुरक्षित, रमाइलो र सिकाइमैत्री वातावरण दिन्छ, जसबाट उनीहरूको सम्पूर्ण विकासमा सहयोग पुग्ने वडाध्यक्ष चापागाईले बताए ।

स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले यस कार्यक्रमबाट “बालमैत्री कक्षाले बालबालिकाको स्वास्थ्य, मनोविज्ञान र सिकाइलाई सन्तुलित बनाउने बताए ।

त्यस्तै, रेडक्रस चितवनका मन्त्री राममणि खनालले “रेडक्रसले समुदायको स्वास्थ्य र सामाजिक सशक्तीकरणका लागि निरन्तर योगदान गर्दै आएको बताए । बालबालिकालाई मानसिक स्वास्थ्य, मनोसामाजिक सशक्तीकरण र खेल–कुदमैत्री वातावरण सिर्जना गर्न आवश्यक सामग्रीहरु स्वास्थ्य केन्द्रलाई उपलब्ध गराइएको मन्त्री खनालले बताए ।

यस कार्यक्रम सुरु भए सगै बालबालिकाको स्वास्थ्य, मानसिक विकास र उनीहरूको अधिकार प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख शर्माले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय