Spread the love

कालिका । लामो समयदेखि असुरक्षित र अस्थायी बसोबासमा जीवन बिताउँदै आएका कालिका नगरपालिकाका विपन्न परिवारले सुरक्षित घर पाएका छन्। तर घर पाएसँगै उनीहरूको अर्को ठूलो अपेक्षा भनेको आफ्नै नाममा जग्गाको लालपुर्जा पाउनु हो।

कालिका नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ। आवास कार्यक्रमअन्तर्गत नगर क्षेत्रका १३ विपन्न परिवारका लागि दुईकोठे पक्की घर निर्माण गरिएको हो।

घर निर्माणमा नगरपालिका, लुमन्ती र सम्बन्धित घरधनीको समेत साझेदारी रहेको छ। सुरक्षित आवास पाएपछि लामो समयदेखि अस्थायी संरचनामा बस्दै आएका परिवारमा खुसी छाएको छ।

घर हस्तान्तरण कार्यक्रममा सहभागी सुकुम्बासी परिवारले अब आवाससँगै जग्गाको स्वामित्व पनि सुनिश्चित गरिदिन स्थानीय सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा सुरक्षित घरले तत्कालको समस्या समाधान गरे पनि आफ्नै नाममा जग्गाको प्रमाण नहुँदा भविष्य अझै सुरक्षित भएको महसुस हुन सकेको छैन।

कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङले जात, धर्म, लिङ्ग वा राजनीतिक आस्थाका आधारमा विभेद नगरी सुकुम्बासी परिवारका लागि घर निर्माण गरिएको बताए। उनका अनुसार सुरक्षित आवाससँगै भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा दिलाउने विषय पनि प्राथमिकतामा रहनुपर्छ।

नगरप्रमुख विनोद रेग्मीले विपन्न तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउने प्रक्रिया अघि बढिरहेको बताउँदै स्थानीय तहले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाइबाले आवास निर्माणसँगै समुदायको सामाजिक तथा आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार सुरक्षित आवासले विपन्न परिवारको जीवनमा स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

लामो समय सुकुम्बासी बस्तीमा बिताएका परिवारका लागि नयाँ घर पाउनु ठूलो उपलब्धि बनेको छ। अब उनीहरूको एउटै अपेक्षा छ—“घरको छानो सुरक्षित भयो, अब जग्गाको लालपुर्जा पनि हातमा परोस्।” सोही कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम प्रमुख विकास रानाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सामाजिक परिचालिका शर्मिला थापा मगरले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय