काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
खड्का लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएको आरोपमा यसअघि नै चर्चामा थिए। सो प्रकरणमा अनियमितता भएको आशंकामा उनीमाथि छानबिन भइरहेको थियो।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ‘पैसा उडेको’ भन्ने आशयको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त घटनालाई समेत अनुसन्धानको दायरामा राखिएको बताइएको छ।
सीआईबी स्रोतका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ र आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
















