Spread the love

रत्ननगर । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले आफ्नो नेपाल यात्रा अन्तर्गतको कार्यक्रमको पहिलो पोस्टर सार्वजनिक गरेको छ।
ब्यान्डले आफ्नो आधिकारिक पेजमार्फत सार्वजनिक गरेको पोस्टरमा नेपालका चार स्थानमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम समेटिएको छ।
उक्त यात्राअन्तर्गत पहिलोपटक पर्यटकीय नगरी सौराहामा पनि नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ।

रत्ननगर नगरपालिका–७, सौराहा स्थित सभा हलअगाडिको सिसुवार ग्राउन्डमा आगामी मंसिर ३ गते नेपथ्यको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको हो। सौराहामा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति हुनेछ।

रत्ननगर नगरपालिकाको संरक्षणमा आयोजना हुन लागेको उक्त कार्यक्रम A.B. Events Nepal र Nepal Diaries Pvt. Ltd. ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। नेपथ्यको नेपाल यात्राअन्तर्गत सौराहामा हुने यस कार्यक्रमले चितवनको सांगीतिक तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

प्राकृतिक सौन्दर्य र पर्यटनका लागि परिचित सौराहामा राष्ट्रियस्तरको सांगीतिक कार्यक्रम आयोजना हुँदा स्थानीय संगीतप्रेमी, चितवनवासी तथा सौराहा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकका लागि विशेष आकर्षण थपिने आयोजकको विश्वास छ।
कार्यक्रमबारे जानकारी दिँदै A.B. Events Nepal का प्रबन्ध निर्देशक Ankit Gautam ले सौराहामा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट आयोजना गर्न पाउनु आफ्नो टिमका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

गौतमले भने, “नेपथ्य नेपाली संगीतको एउटा विशिष्ट पहिचान हो। यस्तो लोकप्रिय ब्यान्डलाई पहिलोपटक सौराहामा प्रस्तुत गर्न पाउनु हाम्रा लागि खुसी र गौरवको विषय हो। सौराहालाई पर्यटनसँगै संगीत, कला र मनोरञ्जनको गन्तव्यका रूपमा स्थापित गर्न यो कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय