चितवन — रोयल राईनो राईडर्स मोटरसाइकल क्लबले आफ्नो ५औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। मोटरसाइकल यात्रामार्फत विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएको उक्त क्लब सामाजिक कार्यमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ।
क्लबका अध्यक्ष मन्दिपमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रानाभाटले क्लबले मोटरसाइकल यात्रामार्फत चितवनको एकसिंगे गैँडा संरक्षण तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो। साथै, मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई सदस्यता नदिने क्लबको नीति प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभयो।
निवर्तमान अध्यक्ष प्रितम श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न विधामा ९ वटा अवार्ड प्रदान गर्नुभएको थियो। ‘आइरन पिल्लर’ तथा ‘क्लब पार्टिसिपेसन टाइटल वेड’ अवार्डबाट सुविर चरण श्रेष्ठ सम्मानित हुनुभएको थियो भने ‘गार्डियन अफ रोड’ अवार्डबाट संजय लोप्चन पुरस्कृत हुनुभयो।
यसैगरी, ‘हेरिटेज हिरो अवार्ड’ मन्दिपमान श्रेष्ठलाई, ‘फारवेस्ट ट्राभल्स पिलियन अवार्ड’ गिरिस नहर्कीलाई तथा ‘उडन स्पुन अवार्ड’ दिलिप बोमजनलाई प्रदान गरिएको थियो। ‘वाई स्काउट अवार्ड’ मार्फत गोकर्ण महतो सम्मानित हुनुभएको थियो।
यस्तै, ‘भिन्टेज भ्वायजर अवार्ड’ आशिष गुरुङलाई प्रदान गरिएको थियो भने ‘भिन्टेज भ्वायजर’ र ‘माइलस्टोन राइडर अवार्ड’बाट ज्याक्कि गुरुङ सम्मानित हुनुभएको थियो।
५औं अधिवेशनमार्फत निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा मन्दिपमान श्रेष्ठ, उपाध्यक्षमा ज्याक्कि गुरुङ, सचिवमा रुक्सन गुरुङ, सहसचिवमा दीक्षित पौडेल तथा कोषाध्यक्षमा शुभम लामा चयन हुनुभएको छ। साथै, क्लबका प्रतिनिधिका रूपमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. शशांक कुमार सिंह तथा रोड क्याप्टेन संजय लोप्चन तामाङले समेत पदभार ग्रहण गर्नुभएको छ।
कार्यक्रममा विभिन्न मोटरसाइकल क्लबहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। क्लबका प्रतिनिधि डा. शशांक कुमार सिंहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रोड क्याप्टेन संजय लोप्चनले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्व अध्यक्ष सुविर चरण श्रेष्ठले क्लबको इतिहासबारे जानकारी गराउनुभएको थियो।
















