काठमाडौँ, २८ चैतः हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्र र कोशी प्रदेशको तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि हिमाली क्षेत्रमा बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।
महाशाखाले वर्षा, हिमपात तथा चट्याङको सम्भावना भएका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
















