Spread the love

रत्ननगर (चितवन) — पूर्वी चितवनको रत्ननगरमा कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालन गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञ सोमबारदेखि सुरु हुने भएको छ।

रत्ननगर–१५ स्थित विन्देश्वरी टोल, माधवपुरमा आयोजना हुने महायज्ञ ‘थ्रि ब्रदर्श मिडिया’ले सौराहा सिटी कलेज निर्माणका लागि गर्न लागेको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

महायज्ञको उद्घाटन प्रदेश सभा सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाल ले गर्ने कार्यक्रम रहेको छ। उद्घाटनअघि सोमबार बिहान माधवपुरमा भव्य कलशयात्रा निकालिने जनाइएको छ।

आयोजक संस्था ‘थ्रि ब्रदर्श मिडिया’का सञ्चालक तथा कलेज निर्माण अभियन्ता फणिन्द्र लामिछानेले आफ्नै कृतिबाट संकलित रकममार्फत कलेज स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए। ‘गाउँ आएको मोटरबाटो’ उपन्यासका लेखकसमेत रहेका लामिछानेले पुस्तक बिक्रीबाट संकलित रकमलाई शिक्षा क्षेत्रमा लगानी गर्ने योजना बनाएको बताए।

“धेरै दुःख गरेर प्रकाशन गरेको उपन्यास बेचेर आफ्नै ठाउँमा कलेज स्थापना गर्ने योजना बनाएको छु,” उनले भने, “महायज्ञबाट संकलित रकमले आधार तयार पार्ने विश्वास लिएको छु।”

उनका अनुसार करिब तीन करोड रुपैयाँ लगानीमा कलेज स्थापना गर्ने लक्ष्य राखिएको छ। आवश्यक रकम जुटाउन तीनै तहका सरकार तथा विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आह्वान गरिने उनले बताए।

ग्रामीण क्षेत्रमा कृषि, विज्ञान तथा प्राविधिक कलेजको अभावका कारण युवाहरू उच्च शिक्षा अध्ययनका लागि शहर धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै कलेज स्थापना गर्न लागिएको लामिछानेको भनाइ छ।

महायज्ञमा चर्चित कथावाचक पण्डित चैतन्य कृष्ण ले कथा वाचन गर्ने कार्यक्रम रहेको छ। फलफूल तथा तरकारी उत्पादनलाई प्राथमिकतामा राख्दै बीएस्सी एजी (कृषि) सम्मको अध्ययन हुने कलेज सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।

महायज्ञमार्फत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाहरूको साथ र सहयोग प्राप्त हुने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय