चितवन । रत्ननगर नगरपालिका–५ झुवानीमा लागू औषध दुव्र्यसन, बालविवाह, बहुविवाह तथा लैङ्गिक समानतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा स्तरीय बाल सञ्जाल र सृजनशील सामुदायिक सिकाई केन्द्रको आयोजना तथा वडा कार्यालयको सहयोगमा सोमबार झुवानी सामुदायिक पुस्तकालयको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा वडाभित्रका करिब ६० जना बालबालिकाहरूको सहभागिता रहेको थियो। सृजनशील सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मीनप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बालकृष्ण चापागाईं, वडा सचिव दिनेश सुवेदी, वडा सदस्य ज्ञानु सुनारलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय टाडीका प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाण्डे तथा प्रहरी चौकी बछ्यौलीका प्रमुख श्याम थापाको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष चापागाईंले समाजमा बढ्दो लागू औषध दुव्र्यसन, बालविवाह र लैङ्गिक विभेदजस्ता समस्याबाट बालबालिकालाई जोगाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। उनले बालबालिकालाई सानैदेखि सही शिक्षा र जानकारी दिन सकेमा उनीहरू गलत बाटोमा जानबाट जोगिने उल्लेख गर्दै स्थानीय तह सुरक्षित, सचेत र समावेशी समाज निर्माणमा प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी बालबालिकाहरूलाई लागू औषधको दुष्परिणाम, बालविवाह तथा बहुविवाहका कानुनी पक्ष र लैङ्गिक समानताका विषयमा जानकारी गराइएको थियो। सचेतना कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाण्डेले प्रशिक्षण दिएका थिए । सो सचेतना कार्यक्रममा वडास्तरीय बालसञ्जाल समितिकी कोषाध्यक्ष दिपान्जली न्यौपाने स्वागत मन्तव्य राखिकि थिन भने कार्यक्रमको सहजीकरण केन्द्रकी परिचालिका रविता महतोले गरेकी थिइन्।
















