Spread the love

रत्ननगर, वैशाख १९ । पूर्वी चितवनको रत्ननगरमा बैशाख २६ गतेबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ को आयोजनामा वडा नं ८ स्थित बाघमारा खेलमैदानमा पुरुष फुटलब प्रतियोगिता आयोजना गरिएको हो ।

आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो ।

खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने, रत्ननगरको खेलकुदको विकास गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष सरोज चौधरीले जानकारी दिए ।

प्रतियोगितामा आयोजक टिम सहित कटारी टाइगर फुटबल क्लव उदयपुर, एपीएफ काठमाडौं, भरतपुर फुटबल क्लव, देवदह क्वाईज रुपन्देही, मकवानपुर जिल्ला फुटबल संघ, समाज कल्याण खेलकुद संघ काठमाडौं, अभिषेक चर्ज रजहरले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेलसंयोजक संजय लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले २ लाख रुपैया तथा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

म्यानअफ दी म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड र उत्कृष्ट कोचलाई जनही १०/१० हजार नगद पुरस्कार प्रदान गरिने खेल उपसंयोजक सुरेश चौधरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै वडा नं ७ का वडाध्यक्ष सजना महतो र वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरीले रत्ननगरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने गौरभको विषय रहेको भन्दै स्थानीय सरकारको साथ र सहयोग रहेको बताए ।

खेलकुदले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै बाघमारामा हुने फुटबलले सौराहाको पर्यटन प्रर्वद्धनमा सहयोग मिल्ने उनीहरुको भनाई छ ।

संरक्षक रत्ननगर नगरपालिका संरक्षक र प्रदेश खेलकुद विकास परिषद् प्रर्बधक रहेको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए ।

स्थानीय तथा प्रदेश सरकार र फुटबलप्रेमी महानुभाव र विभिन्न संघसंस्थाहरुसंग सहयोग जुटाएर प्रतियोगिता गर्न लागिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय