काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर, धनुषा र बर्दियामा शुक्रबार र आज भएका सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
सुनसरीको दुहबी नगरपालिका–२ तुथाहामाबसको ठक्करबाट साइकल यात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका(४ मा ट्याक्टरको ठक्करबाट साइकलमा सवार लालबन्दी–९ बस्ने सन्तोष भट्टराईकी छ वर्षीया छोरी अन्सु भट्टराई, बाराको कलैया उपमहानगरपालिका(२४ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री कलैया(१६ दिब्यनगरी ७० वर्षीया दहउरादेवी महतो, कास्कीको अन्नपूर्ण गाउँपालिका(९ सुधामेमा बोलेरोको ठक्करबाट साइकल यात्री अन्नपूर्ण(९ का डिलबहादुर आलेकी छ वर्षीया छोरी सुस्मा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ कालीगण्डकी चोकमा आज बिहान ट्रक र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका(३ की ३६ वर्षीया निशा कुमाल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(१ स्याउले बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोधारा चाँदनी(१ का १४ वर्षीय विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, धनुषाको हंसपुर नगरपालिका–२ बक्चौडामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका रामटहल मण्डलका १४ वर्षीय छोरा कृष्ण मण्डलको मृत्यु भएको छ भने बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा आज बिहान भएको दुर्घटनामा गुलरिया–११ का अलिशेर साइकी आठ वर्षीया छोरी नाजिया साइको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















