Spread the love

काठमाडौं । केही दिनयतादेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिराका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरीका अनुसार आज बिहान खसेको पहिराले ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठानको सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानपुरको भीमफेदी गाउँपालिका–८ भरेङ डाँडास्थित कान्ति लोकपथ तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हाल विभिन्न स्थानमा सडक अवरोध कायम रहेको जानकारी दिएका छन्। उनका अनुसार वैशाख १६ गतेको पहिराले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

यस्तै, वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

वर्षायाममा बाढी र पहिराको जोखिम उच्च रहने भएकाले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा अत्यन्त सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय