कालिका, वैशाख २६ । चितवनको कालिका नगरपालिका–१० तीनदोभानमा निर्माणाधीन बहुप्रतिक्षित पक्की पुलको काम तीव्र गतिमा अघि बढाइएको छ । नगर प्रमुख विनोद रेग्मी र उप–प्रमुख बिमला तामाङले पुल निर्माणस्थलको अनुगमन गर्दै असारभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको हो ।
४ करोड ३८ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको उक्त पुल २०८३ साल पौष ३० गतेसम्म सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीयवासीको माग र बर्खायाममा हुने जोखिमलाई मध्यनजर गर्दै निर्माण कार्यलाई तीव्र बनाइएको नगर प्रमुख रेग्मीले बताउनुभयो । निर्माण व्यवसायीले समेत सम्झौताअघि नै पुल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा प्रत्येक वर्ष वर्षायाममा खोला तर्ने क्रममा दुर्घटना र ज्यान गुमाउने घटना दोहोरिने गरेको छ । त्यसैले यस वर्ष बर्खा सुरु हुनुअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ ।
४० मिटर स्पान रहेको पुलमा दायाँ–बायाँ ६०–६० मिटर एप्रोज तथा रिभर कन्ट्रोल संरचना निर्माण गरिनेछ । हाल पुलको ढलानसँगै खोलाको दुवै किनारामा ड्याम निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पुलको लम्बाइ १२.५ मिटर र चौडाइ ८.४ मिटर रहने बताइएको छ ।









