रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–५ स्थित झुवानी सामुदायिक पुस्तकालयमा सञ्चालित ‘टेक एज गर्ल्स’ परियोजनाअन्तर्गत किशोरीका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
किशोरीहरूको डिजिटल सीप, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत हालसम्म भएका गतिविधि र उपलब्धिबारे जानकारी गराइएको थियो।


झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चापागाईंले किशोरीहरूको क्षमता विकास र प्रविधिमा पहुँच विस्तारका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले किशोरीहरूलाई सक्षम र आत्मनिर्भर बनाउन परिवार, समुदाय तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
परियोजनाकी संयोजक ज्योति आलेले हालसम्म सञ्चालन गरिएका कार्यक्रम तथा हासिल भएका उपलब्धिबारे जानकारी गराउनुभएको थियो। उहाँले परियोजनामार्फत किशोरीहरूको प्रविधिसम्बन्धी ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि भइरहेका गतिविधिबारे प्रकाश पार्नुभयो।
त्यसैगरी, टेक एज गर्ल्स कार्यक्रम उपसमिति संयोजक हिराकुमारी अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका पुस्तकालयका अध्यक्ष अनिल अर्यालले किशोरीहरूको क्षमता विकास र व्यक्तित्व निर्माणमा पुस्तकालयले सञ्चालन गर्ने कार्यक्रमको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले परियोजनालाई प्रभावकारी बनाउन अभिभावकको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा किशोरीहरूको सिकाइ, प्रविधिको सही प्रयोग तथा उनीहरूको नेतृत्व विकासमा अभिभावकले खेल्न सक्ने भूमिकाका विषयमा छलफल गरिएको थियो।







