कालिका । महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजनाअन्तर्गत सञ्चालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। तालिममा सहभागी महिलाहरूले कम लगानीमा बढी उत्पादन गर्ने प्रविधि, गुणस्तरीय बीउ छनोट, आधुनिक तरकारी तथा फूल खेती, थोपा सिँचाइ प्रणाली र सुरक्षित विषादी प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।
एडवानकी उपाध्यक्ष तिर्थ कुमारी विकको अध्यक्षता तथा नगर उपप्रमुख विमला तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सन्तवीर स्याङ्दान, कालिका नगरपालिका कार्यपालिका सदस्य दोय सरस्वती खत्री र शान्ति महतो, कृषि शाखा प्रमुख तथा प्रशिक्षक सन्तोष न्यौपाने, कृषि विज्ञ प्रशिक्षक शिवराज पौडेल, एडवानकी कार्यक्रम सहजकर्ता कमला पन्थीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सगरमाथा महिला समूहकी अध्यक्ष वेलकुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी व्यावसायिक कृषि उत्पादनमार्फत आम्दानी वृद्धि गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै एडवानकी उपाध्यक्ष तिर्थ कुमारी विकले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सके महिलाहरूको आर्थिक अवस्था सुधार हुनुका साथै आत्मनिर्भर बन्ने आधार तयार हुने बताउनुभयो। उहाँले सीपमूलक तालिमलाई उत्पादनसँग जोडेर व्यावसायिक खेतीतर्फ अघि बढ्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।
नगर उपप्रमुख विमला तामाङले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै सिकेका सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी स्थानीय उत्पादन वृद्धि र आयआर्जनमा जोड दिन आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकारले कृषि र महिला उद्यमशीलतालाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
वडा अध्यक्ष सन्तवीर स्याङ्दानले आधुनिक कृषि प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि सम्भव रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई खेतबारीमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले वडाको तर्फबाट कृषक तथा महिला समूहलाई आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो।
तालिमका क्रममा कृषि शाखा प्रमुख सन्तोष न्यौपाने र कृषि विज्ञ शिवराज पौडेलले मौसमी तथा बेमौसमी तरकारी खेती, गुणस्तरीय बीउ छनोट, गोलभेँडाका विभिन्न जात, सयपत्री फूल खेती, थोपा सिँचाइ, घरेलु विषादी, झोलमोल तथा विषादीको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक शिवराज पौडेलले यो आफ्नो दशौँ तालिम रहेको उल्लेख गर्दै यस पटक फूल खेतीसमेत समेटिएको फरक प्रकृतिको तालिम भएको जानकारी दिनुभयो।
सिकाइ अनुभव सुनाउँदै सहभागीको तर्फवाट रेनुका तामाङले तालिमबाट गुणस्तरीय बीउ छनोट, सयपत्री फूलका विभिन्न प्रजाति, गोलभेँडा उत्पादन प्रविधि, थोपा सिँचाइ प्रणाली, घरेलु विषादी र झोलमोल बनाउने विधिबारे नयाँ ज्ञान हासिल गरेको र व्यावसायिक खेतीप्रति आत्मविश्वास बढाएको बताउँदै अब सिकेका सीपलाई व्यवहारमा उतारी उत्पादन र आम्दानी बढाउने योजना रहेको बताईन ।




